रत्ननगर – चितवनको रत्ननगरस्थित टिकौली चौरमा शनिबारदेखि जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगिताको प्रदेश सांसद ईश्वर सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद सापकोटाले खेलकुदको विकासका लागि लगानी र प्रोत्साहन दुवै आवश्यक रहेको भन्दै त्यसका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । मुलुकलाई अन्तराष्ट्रियस्तरमा चिनाउन खेलकुदको भूमिका अहम् हुने भन्दै उनले खेलकुदको विकासका लागि लगानी गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगिताअन्तर्गत एथलेटिक्स, तेक्वान्दो, भलिबल, उसु, कबड्डी, कराँतेलगायतका खेल हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख रामजी ढकालले जानकारी दिए । प्रतियोगितामा पालिकास्तरीय प्रतियोगिताबाट छनोट भएर आएका विभिन्न स्कूलका विद्यार्थीले उपाधिका लागि स्पर्धा गर्नेछन् ।
प्रतियोगिता उद्घाटनको अवसरमा समितिले विभिन्न खेलका प्रशिक्षकहरुलाई सम्मान गरेको छ । पत्रकारिता मार्फत् खेलकुदको विकासमा योगदान गरेको भन्दै सिनर्जी एफएममा कार्यरत पत्रकार आस्था राईलाई नगद पुरस्कारसहित सम्मानसमेत गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशअन्तर्गतको खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बारेमा प्रकाश पार्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खेलकुदको बजेट दोब्बर बनाउने बताए ।
कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, माडी नगरपालिकाका उपमेयर खेम महतो, इच्छाकामना गाउँपालिकाकी उपमेयर माया सिलवाल, खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँ, रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भुजेललगायतको सहभागिता रहेको थियो ।
उद्घाटनको अवसरमा गरिएको प्रतियोगितात्मक मार्चपासमा माडी नगरपालिका प्रथम, रत्ननगर नगरपालिका द्वितीय र इच्छाकामना गाउँपालिका तृतीय भएका छन् ।





















