आशिष अधिकारी
चितवन – नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण सम्पन्न गरेको भरतपुर–६ केसरवागस्थित ‘किङफिसर’ ताल स्थानीयलाई हस्तान्तरण गरेको छ ।
‘किङगफिसर ताल ४’ नामाकरण गरिएको ताल शुक्रबार नवज्योति सामुदायिक वन उपभोक्ता समूह भरतपुर–६ लाइ हस्तान्तरण गरिएको हो । गत आर्थिक वर्ष २०७८ / ०७९ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गरेको हो । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीयलाई हस्तान्तरण गरेको जनाएको छ । किङफिसर एक, दुई र तीन यसअघि नै स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ ।

ताल हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले तालको संरक्षण र प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताउए । चितवन देशकै तेस्रो गन्तव्यको रुपमा रहेको बताउँदै उपप्रमुख अधिकारीले स्थानीयस्तरमा भएका ताल तलैयाहरुको संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने र अब उक्त कार्य थर्न ढिलाइ गर्न नहुने जिकिर गरे ।
किङफिसर माछाको सिकार गर्ने चराको एउटा प्रजाति हो । उक्त चरा सो स्थानमा आएर चरिचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम ‘किङफिसर’ ताल राखिएको हो । किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३ सय ५८ तालमध्ये निकै चर्चामा रहेको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरीदह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित सो ताल मानव निर्मित ताल हो ।

नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याए अनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रमबाट विभिन्न आर्थिक वर्षहरुमा बजेट विनियोजन हुँदै आएको थियो ।
केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक–नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो । ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलचर प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढ्ने स्थानीयवासीको ठम्याइ छ ।
उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको थियोे । बिगत ४ बर्ष देखि नेपाली सेनाबाट तालको रेखदेख तथा सरक्षण हुँदै आइरहेको थियोे ।





















