काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन्।
एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, ४ मन्त्रीले पनि शपथ लिएका छन्।
मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरूको कार्यभार पछि तोकिने छ। ७ दलका १६६ र तीन जना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।





















