राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले देशमा स्वतन्त्र नागरिक बन्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।
बिहीबार चुनावी प्रचारप्रसारका क्रममा भरतपुर–१७ गाजीपुर पुगेका नेता पाण्डेले विकसित मुलुकहरुको उदाहरण दिँदै नेपालमा सबै जनतालाई बाध्य पारेर पार्टीमा आवद्ध गराउने प्रवृत्ति हावी भएको बताएका हुन्। ‘स्वतन्त्र नागरिक नहुँदा जनताले चाहेजस्तो नेतृत्व चुन्न मुस्किल भएको छ,’ उनले भने।
४० वर्षसम्मका युवालाई विदेश पठाएर नेपालम दक्ष जनशक्तिको अभाव सिर्जना गर्ने काम पनि सरकारमा पुगेका दलबाटै भएको उनको भनाइ छ।
अबको युगको लागि विदेशिएका सबै युवाशक्तिलाई स्वदेश फिर्ती गराएर रोजगारको व्यवस्था सिर्जना गर्ने जिम्मा लिएर मतदाताको घरदैलोमा आइपुगेको नेता पाण्डेले बताए। नेताहरूले आफू सत्तामा पुग्नको लागि मात्रै राजनीतिमा होमिएको हुँदा अबका दिनमा जनता सजग भएर सक्षम नेतृत्व छान्नुपर्ने उनले बताए।
‘त्यसैले अब कुनै एउटा पार्टीले देखाएको नेतालाई भोट हाल्ने जमाना गए, अब जनताले आफ्नो भविष्य आफैँ कोर्न सक्षम छन्,’ उनले भने। त्यसको लागि मंसिर ४ गते आफ्नो स्वविवेक प्रयोग गरिदिन पनि उनले आग्रह गरे।





















