गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् ।
माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकाममा रहेको पार्टी कार्यालयमा शुक्रवार आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।
‘म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बिउ बचाउनका लागि हो’,प्रचण्डले भने, ‘यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणीमात्र हो ।’ उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जित सुनिश्चित भएको ठाउँ भएको बताए ।
‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो’, प्रचण्डले भने, ‘माओवादी नेता कार्यकर्तामात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौँ तपाईँ चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।’
अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।





















