काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेका छन्। आसन्न चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेकाले असन्तुष्ट रहेका प्रधानमन्त्री देउवाले मन्त्रीहरू पदमुक्त गरेका हुन्।
देउवाले मन्त्रीहरुलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ अनुसार उक्त मन्त्रालयहरुको जिम्मेवारी देउवालाई तोकेकी छन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि मन्त्री मृगेन्द्र सिंह, भौतिक पूर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राई र वन मन्त्री प्रदीप यादवलाई देउवाले पद मुक्त गरेका हुन्।
जसपा सत्ता गठबन्धनबाट बाहिरिएपछि गठबन्धनले मन्त्रीहरुलाई हटाउनुपर्ने निचोड निकालेको थियो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेका छन्। जसपाले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ १७ सिट पाएको छ।
यसअघि गैरसांसद पनि मन्त्री हुने कानुनी व्यवस्थाअनुसार कानुनमन्त्री बनेका गोबिन्द बन्दीको पनि कार्यकाल सकिएको थियो। अब देउवा सरकारमा ६ मन्त्रालय खाली भएका छन्।
रक्षा मन्त्री यसअघि कांग्रेस नेता मिनेन्द्र रिजालले राजीनामा दिएदेखि नै खाली रहेको छ। देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफै सम्हाल्दै आएका छन्।





















