चितवन । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ मा राष्ट्रवादी नेताहरुले जित्ने दाबी गरेका छन् ।
राप्रपा क्षेत्रीय समिति क्षेत्र नम्बर १ चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले मंसीर ४ लाई जनताको जित हुने दिन बनाउन आव्हान गरेका हुन् । सत्तामा रहेका दलहरुका कामबाट आजित भएकाले जनताले विकल्प खोजिरहेको बताए ।
उनले सम्भावनानै सम्भावना भएको देशलाई कंगाल बनाउने र विदेशीको इशारामा चल्ने र काम गर्नेहरुलाई हराउन जनताहरु लाग्ने दाबी गरे । “देशलाई बचाउने बेला आएको छ, अहिलेसम्मकै सबै विकृति र विसंगतीलाई लखेट्ने दिन आउदैछ”, उनले भने, “ आसुरहरुलाई नाश गरेर दुर्गाले नयाँ दुनियाको रचना गर्नुभयो, यसपाली जनताको जित हुने आशिर्वाद मागेको छु ।”
विदेशीको चलखेल रोक्नलाई राष्ट्रवादी नेताहरुलाई भोट हाल्न जनताहरु उत्साहित भएको बताए । उनले हरेक जमघटहरुमा युवाहरुलाई भेट्नै कठिन भएको बताउँदै स्वदेश फर्काउने अभियान चलाइने बताए । उनले हिन्दुराज्य र राजसंस्था हटाएर संस्कारमाथिनै प्रहार भएको जीकिर गरे ।
“हिन्दुराज्य किन हटाएको ? यहाँबाट राजसंस्था किन हटाएको ?”, उनले प्रश्न गरे, “रितिरिवाज, संस्कारहरु विलय बनाउने प्रयास भैरहेका छन्, अब नेपालीहरु एक्यवद्ध बन्छन्, राष्ट्रवादी नेताहरु जिताएर देश जोगाउनेछन् ।” उनले युवा पुस्ताहरुले मौलिक पर्वको महत्व, मनाउने विधिहरुनै भूल्न थालेको तर्क गरे । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने योजनामा छन् । उनी यसअघि २०७० मा दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित भएपछि वनमन्त्री समेत बनेका थिए ।





















