काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईजी सँग मिलेर देशलाई एउटा नयाँ मोडल दिने जनाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाइँहरूलाई के नलागोस् भने दुई जना बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं ।’
‘बाबुराम–प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’
‘बाबुरामजी र मैले बेग्ला बेग्लै प्रयास गर्यौं। उहाँ आफ्नो पार्टी गठनमा लाग्नुभयो। म एमालेसँग एकता गरेर नयाँ प्रयोग गरेँ। दुवैको उद्देश्य पुरा भएन’ उनले भने, ‘हामी अलग अलग प्रयोग गर्न हिँड्दा माओवादीले ल्याएको उपलब्धि धरापमा पर्यो।
त्यसैले हामी दुवै पक्षले गम्भीर समीक्षा नगरेर देश अराजकतातिर जाने खतरा महशुस गरेका छौँ। हामी अलग हुँदा प्रतिगमनले टाउको उठाउन खोज्यो।’ प्रचण्डले जनाए ।





















