चितवन / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट चन्द्रबिलास अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज (शुक्रबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत अधिकारीले चितवन ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले १० बुँदे एजेन्डा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पार्टीहरुको सिन्डिकेट तोडेर युवाहरुलाई नेतृत्वमा ल्याउन आफु चुनावी मैदानमा होमिएको उनले बताए। उनले सरकारी शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गरि हरेक नागरिकको पहुँचमा नि:शुल्क गुणस्तरीय शिक्षा पुर्याउन आफू उम्मेदवार बनेको उनले बताए ।
सरकारी स्वास्थ्य केन्द्र तथा अस्पतालको स्तरोन्नति गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, दिगो बिकास निर्माण गर्ने, पार्टीगत गुटबन्दी अन्त्य, दक्ष जनशक्ति उत्पादन, नीति नियममा सुधार, एक जिल्ला एक मेघा कृषि फार्म, कृषिमा आधुनिकीकरण गरि उत्पादन वृद्धि, सरकारी कार्यालयको आर्थिक कारोबारमा डिजिटलाइजेशनलगायत आफ्नो चुनावी एजेन्डा रहेको उनले बताए ।
उनले अब वडादेखि प्रतिनिधि सभासम्म स्वतन्त्र उम्मेदवारहरु आउन जरुरी रहेको बताए । चर्चामा आउन प्रचण्डको क्षेत्रबाट उम्मेदवारी दिन लाग्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँहरुसँग टाउको जोडेर मलाई चर्चामा आउन छैन ।’
भरतपुर १२ निवासी अधिकारी रेष्टुरेन्ट तथा शैक्षिक परामर्शको क्षेत्रमा १० वर्षदेखि सकृय छन् ।





















