काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन्।
उनले पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्नेमा जोड दिए। प्रचण्डले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए। उनले कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।
उनले युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए। धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै प्रचण्डले समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे।
उनले लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिए। उनले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्ने बताए।
प्रचण्डले राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने पनि बताए। ‘हामीले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना छन्,’ उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ।
हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’





















