भरतपुर / टिवी हिमालको नेतृत्वमा डोजर अपरेटर चालक संघ पुनर्गठन भएको छ । केन्द्रीय संघको चितवनमा सम्पन्न चौथो साधारणसभा एवं १९ औं विशेष भेलाले हिमालको नेतृत्वमा नयाँ कमिटी पुन: गठन गरेको हो ।
नवगठित संघको उपाध्यक्षमा बैकुण्ठ प्रसाद रिजाल र रमेश सापकोटा, सचिवमा मिन बहादुर घिसिङ, सहसचिव लक्ष्मण विक र कोषाध्यक्ष मनोज दर्जी सहित पदाधिकारी निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरूमा कमल रसाइली, प्रदिप विक, उमेश विक र अर्जुनबावु न्यौपाने चयन गरिएको नवनिर्वाचित अध्यक्ष हिमालले सान्दार अनलाईन लाई जानकारी दिनुभयो ।
कार्यक्रममा स्वतन्त्र चालक समाजका केन्द्रीय अध्यक्ष मिलन श्रेष्ठले मजदुर एकता नै आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले समस्या हुदाँ मात्रै संगठन खोजिएको गुनासो गर्नुभयो । प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष श्रेष्ठले राजनीतिक दलहरूले आफुहरूलाई साधनको रूपमा प्रयोग गरिरहेकाले त्यसलाई तोड्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति चितवनकी उपाध्यक्ष कल्पना काफ्ले सापकोटाले मजदुरको समस्या सम्बोधनका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थागत एकता लागि केन्द्रीकृत हुन उहाँले सुझाव दिनुभयो ।
महिला अधिकारकर्मी एवं मजदुर नेता सावित्री पौडेलले चालकका समस्या समाधानका लागि राज्य उदासीन भएको आरोप लगाउनुभयो । उहाँले निति नियम कार्यान्वयनमा समेत जोड दिनुभयो ।
कार्यक्रममा स्वतन्त्र चालक समाजका केन्द्रीय प्रवक्ता रेशमराज पौडेल, कर्णाली प्रदेशका पहिलो अपरेटर दिनेश वयक, वरिष्ठ डोजर मेकानिक कमल रसाइली, जनवादी गायक भेष रसाइली, आसिहारा काईकुन प्रशिक्षक अमृत विक, संस्थाका सस्थापक कोषाध्यक्ष मनोज परियार लगायत अतिथि उपस्थित रहनुभएको थियो ।
नवगठित कमिटीको पहिलो बैठकले सहकारी मोडलमा कोष सुचारू गर्ने निर्णय गरेको छ ।
सँगै देशव्यापी सदस्यता वितरण कार्यलाई समेत अघि बढाउने संघका सचिव मिन बहादुर घिसिङले जानकारी दिनुभयो ।






















