चितवन / चितवनको भरतपुरमा निर्माण भएको नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टरमा ड्राईभिङ्ग सिकाउन शुरु गरिएको छ ।
भरतपुर महानगरपालिका ८ तीनतले चोकमा निर्माण भएको महालक्ष्मी ट्रायल सेन्टरमा आजबाट ड्राईभिङ्ग सिकाउन शुरु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार निर्माण भएको ट्रायल सेन्टरमा उक्त सेवा शुरु गरिएको सञ्चालक डम्बर बहादुर थापाले बताए ।
२ बिघा भन्दा बढी क्षेत्रफलमा आफ्नै कम्पाउण्ड भित्र दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा ड्राईभिङ्ग सिकाइने उनले जानाकारी दिए ।
उनले एकै दिनमा ४०० भन्दा बढीलाई ड्राईभिङ्ग सिकाउने क्षमता रहेको बताउदै ट्राफिक नियममा आधारित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सहित ट्रायल पास हुने गरी सवारी सिकाइने बताए ।
ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्र्याक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उनले बताए ।अभ्यासका लागि आउने प्रशिक्षार्थीहरुका खाने पानी अपाङ्गमैत्री भवन, शौचालय, चमेना गृहलगायतको सुविधा रहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । यस्तै चौबिसै घण्टा प्राथमिक स्वास्थ्य तथा सुरक्षाका लागि सिसी क्यामेराको व्यवस्था रहेको पनि उनले जानकरी दिए ।
दुई बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर नेपालकै ठूलो र सुविधासम्पन्न भएको उनको दाबी छ ।
बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।





















