चितवन / उद्योग वाणिजय संघ चितवनले नारायणगढका आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
संघले आज (बुधबार) एक कार्यक्रमकाबीच गत बैशाख १५ गते भरतपुर महानगरपालिका ३ कमलनगरमा भएको आगलागीबाट क्षति पुगेको न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शपलाई राहत वितरण गरेको हो ।
संघको सदस्य समेत रहेका दुबै संस्थालाई ५०-५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
राहत वितरण गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले आगलागीबाट करोडौंको क्षति भएता पनि संघले आफ्ना सदस्यप्रतिको दायित्व सम्झिएर सहयोग गरेको बताए । अध्यक्ष श्रेष्ठले विपत्ति पूर्वसूचना नदिई आउँने भन्दै आगामी दिनमा सम्पूर्ण व्यवसायीहरुलाई व्यवस्थित र सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहललाल प्रधानले सदस्यता राहत कोषले संस्थाका सदस्यहरुलाई आकास्मिक रुपमा भैपरी आउने घटनाले निम्त्याउने क्षतीका लागि राहत महसुस गराउने बताए ।
संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले कोषले व्यवसायीक सामाजिक उत्तरदायित्व पुरा गर्न मद्त मिलेको बताए । संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीक राहत कोषलाई बढाउदै लैजान सके आगामी दिनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
राहत रकम ग्रहण गर्दै एक्सप्रेस मोवाईल सपका प्रोपाईटर विष्णुमणी लामिछाने र न्यू लामिछाने फेन्सीका प्रोपाईटर सूर्यमणी लामिछानेले संघले उपलब्ध गराएको राहतले संघको सदस्य भएकोमा गौरवको महसुस भएको बताए ।
कार्यक्रमा संघका पदाधिकारी, कार्यसमिति, महासंघको कार्यकारीणी सदस्य, विभिन्न बस्तुगत संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।





















