काठमाडौं / आगामी आर्थिक वर्षदेखि निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा दिन नपाउने भएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ / २०८० को बजेट प्रस्तुत गर्दै सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने बताए।
‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ’ अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै भने।
स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क लिन थालेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बीमा मार्फत सेवा दिने व्यवस्था गरेको हो।
हाल निजी, सामुदायिक र सरकारी गरी ४४१ स्वास्थ्य संस्था बीमा कार्यक्रममा आवद्ध छन्। जसमध्ये ५२ वटा स्वास्थ्य संस्था निजी अस्पताल मात्र छन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गर्ने पनि बजेटमा उल्लेख छ। स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ।





















