काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन्।
आवश्यक पर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले जोड दिए।
सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले आम नेपालीले ल्याएको परिवर्तन जनता आफैँले अनुभूति गर्नुपर्ने बताए। उनले भने, ‘त्यसका लागि पनि संविधानका आधारमा कानुन बनाउनुपर्छ।’
‘डिजिटलाइजेसन’ र ‘ग्लोबलाइजेसन’ को अधिकतम फाइदा लिनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ। यसबाट कसरी फाइदा लिन सकिन्छ भनी सकारात्मक र रचनात्मक विश्लेषण गर्नुपर्ने उनले बताए।
विकासको अरूको मोडेललाई यान्त्रिक तरिकाले जसरी पछ्याउन नसकिने उनको भनाइ छ। प्रचण्ड भने, ‘हाम्रो आफ्नै तरिकाले बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको छ।’
आफू प्रधानमन्त्री हुँदा मध्य पहाडी राजमार्ग र ‘लिंक रोड’ को विकासमा विशेष ध्यान दिएको अध्यक्ष प्रचण्डले बताए। आफैँले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको उनले औँल्याए।
उनले भने, ‘त्यसका लागि अरू मन्त्रालयहरूले पनि समन्वयात्मक ढंगबाट ऐन, नीति बनाउन लाग्नुपर्छ।’





















