चितवन / भरतपुर महानगरपालिका ७ प्रेमबस्तीमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना भएको छ । प्रेमबस्ती कालिका देवी मन्दिर परिसरमा स्थापना गरिएको हो ।
उक्त केन्द्रको भरतपुर महानगर प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरले सबै वडा दिवा सेवा केन्द्र स्थापनाको नीति लिएको बताईन् । सोही नीति अनुसार नै भरतपुर ७ मा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेको उनले बताईन् ।
उनका अनुसार भरतपुरकै अन्य केही वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना भई सञ्चालनमा समेत आइसकेको र केहीमा स्थापनाको चरणमा रहेको छ । महानगरले एक वडा एक डे केयर सेन्टरको नीति लिएको उनको भनाइ थियो । जग्गा उपलब्ध भएका वडाहरुमा आवश्यकता अनुसार यस्ता दिवा सेवा केन्द्र स्थापना गरिएको उनले बताईन् ।
‘एक वडा एक जेष्ठ नागरिक तथा दिवा सेवा केन्द्र भनेर महानगरपालिकाको नीति नै छ । महानगरपालिकाको धेरै वडामा स्थापना गरिएको छ, उनले भनिन्, ‘जग्गाको व्यवस्थापन भयो र आवश्यकता महसुस भयो भने महानगरपालिकाले आफ्नो नीति अन्तर्गत रहेर धेरै थोरै जती हुन्छ बजेट बिनियोजन गर्छ र गरेको छ ।’
अहिले मानिसहरुको व्यस्तता कारण यस किसिमको दिवा सेवा केन्द्र आवश्यकता महसुस भएको उनको भनाइ थियो । ‘अहिले परिवारका सदस्यको व्यवस्तता बढेको छ । यसले जेष्ठ नागरिकहरु घरमा एक्लै बस्नुपर्ने अवस्था छ, उनले भनिन्, यस्ता दिवा सेवा केन्द्र भयो भने दिनभर नाँच-गान, भजन-कृतन गरेर समय बिताउन सकिन्छ ।’ उनले केन्द्रको तला थप गर्नका लागि सक्दो सहयोग गर्ने समेत बताईन् ।
यस्तै मेयर दाहालले कार्यकल सकिन दुई महिना पनि बाँकी नरहेकोले घण्टा घण्टाको महत्त्वलाई बुझेर आफुहरुले काम गरिरहेको बताईन् । महानगरमा धेरै काम भएको भन्दै उनले बाँकी काम पनि सक्ने गरी आफुहरुअहोरात्र खटिरहेको उनको भनाइ थियो । ‘समय थोरै छ, अब डेढ दुई महिनाको मात्रै समय छ, उनले भनिन्, ‘यही डेढ दुई महिनाको समय पनि घण्टा घण्टाको हिसाब गरेर सकेसम्म गर्नुपर्ने कामलाई अघि बढाउन हामी अहोरात्र खटेका छौं ।’
उनले महानगरले एक वडा एक दिवा केन्द्रसँगै एक वडा एक स्वास्थ्य चौकी, एक वडा एक खेल मैदानको नीति पनि लिएको बताईन् । भरतपुर ७ मा यो नीति अनुसार काम पनि भएको उनले बताईन् । भरतपुर ७ मा साइकल लेनसहितको सडक पनि निर्माण भएको भन्दै यो महानगरकै नमूना वडा भएको उनको भनाइ थियो । स्थानीय सरकार आएपछि भरतपुर ७ को मुहार फेरिएको उनले दाबी गरिन् ।
भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्नु पुण्यको कार्य भएको बताए । जेष्ठ नागरिक भग्वान सरह हुने भन्दै मन्दिर भन्दा यस्ता जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्नु पुण्यको कार्य भएको उनको भनाइ थियो । उनले केन्द्रमा नै नियमित स्वास्थ्य परीक्षणको व्ययवस्था गरिने समेत बताए ।
जेष्ठ नागरिक मिलन केन्द्र ७९ लाख १७ हजारमा निर्माण भएको हो । भवन निर्माणका लागि महानगरले करीब ५० लाख बजेट उपलब्ध गराएको थियो । ८५ लाखमा २१ धुर जग्गा खरिद गरेर केन्द्र निर्माण गरिएको भवन निर्माण उपभोक्ता समितिका संयोजक मिनकुमार मल्लले जानकारी दिए ।
जग्गा खरिद र भवन निर्माणका लागि धनधान्यान्चल महायज्ञ समेत आयोजना गरिएको थियो । आउँदो साधारण सभामार्फत छिट्टै भवन र धनधान्यान्चलको आय व्यव सार्वजनिक गर्ने मन्दिर व्यवस्थापन समिति एवं भवन निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष भगवती रायमाझीले बताईन् ।





















