काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन्।
शनिवार काठमाडौं आयोजित एशोसियएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रममा मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन्।
बाल्यावस्थामा बालबालिकाको सर्वाङगिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ।
‘बाल्यावस्थामा अनुशासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ,’ उनले भने, ‘आमापछिको पाठशाला भनेको विद्यालय नै हो।’
आजका बालबालिका देशको भविष्य भएकाले उनीहरूको सीप दक्षता र बौद्धिक पाटोमा शिक्षक गम्भीरताका साथ लाग्नुपर्ने उनको भनाई छ।
बच्चाको भावना बुझ्ने कुरामा पुरुषभन्दा महिलाहरू नै अघि भएको बताउँदै पेशामा लाग्नेहरूलाई संस्थाले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
‘तपाईंहरुका अप्ठ्याराहरू छन्, मैले बुझ्छु,’ उनले भने, ‘तोकिएको तलब तथा अन्य समस्याहरू मन्त्रालयले समाधान गर्छ।’
मन्त्री पौडेलले बाल विकासका शिक्षकहरूलाई सरकारले तोकेको तलब उपलब्ध गराउन आफूले स्थानीय तहहरूसँग समन्वय गरिरहेको बताए। कार्यक्रममा देशका उत्कृष्ट प्रि-स्कुललाई अवार्ड प्रदान गरिएको थियो।





















