चितवन / नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन ।
आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।
अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् ।
आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।
बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।
अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल सहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।
शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।





















