काठमाडौं / बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा आदेशमा उल्लंघनका घटना बढेपछि अधिकारीहरुले कडाई गरिने बताएका छन्।
निषेधाज्ञाको अवस्था बुझ्न शनिबार काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली आफै सडकमा निस्किएका थिए।
काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ। तथापी निषेधाज्ञा उल्लंघनका घटना बढेको भन्दै थप कडाई गरिने सिडिओ पराजुलीले बताए।
पत्रकारलाई सूचना विभागको परिचयपत्र र अरुलाई जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आज आईतबार देखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ।
‘काठमाडौं उपत्यकाको तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा चेकजाँच कडा भइरहेको छ, आइतबारबाट निषेधाज्ञा अझ धेरै कडा गर्दे लगिनेछ’ पराजुलीले भने।
शनिबार सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलेको पाइएकाले अबदेखि ती निकायकै सिफारिसमै गाडी चलाउन अनुमति दिइने पराजुलीले बताए।
शनिवार निषेधाज्ञा उल्लघंन गर्ने करिब १ हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ।
सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको उनले बताए।





















