काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको पक्षमा रहेका नेता वामदेव गौतमले बिहीबार बिहान नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न गौतम उनको निजी निवास खुमलटार पुगेका थिए । प्रचण्डलाई भेटेर गौतमले पार्टी एकताको लागि पहलकदमी बढाउन आग्रह गरेका उनी निकट स्रोतले जानकारी दियो ।
अदालतले संसद विघटन बदर गरिसके पछिको अवस्थामा नयाँ प्रकारले कसरी जान सकिन्छ भनेर पार्टी भित्रै छलफल चलाउनुपर्नेमा गौतमले जोड दिएका जनाइएको छ ।
‘सरकार बनाउन कांग्रेससँग किन हात जोडिरहनु पर्यो । आफ्नै पार्टीको दुई तिहाइ नजिक बहुमत छ । छलफल गरेर समस्या समाधानतिर लाग्नुपर्छ,’ प्रचण्डसँग गौतमले गरेको आग्रहलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र त्यसका लागि पार्टी भित्रै छलफल गरेर ओलीलाई दबाब दिनुपर्ने गौतमको भनाइ छ ।
गौतमको प्रस्तावमा प्रचण्डले भने खासै कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ । प्रचण्डले आफू पनि पार्टी एकताकै पक्षमा रहेको, तर ओलीले नै विभाजनको बिऊ रोपेको बताएका स्रोतले जानकारी दियो ।
‘पार्टी एक हुँदै हुँदैन भन्ने होइन । एकता हुनुपर्छ भन्ने पक्षमा म पनि हो । तर, ओलीजीले जे भन्यो त्यहि मानेर, उहाँका हरेक गलत कदमलाई साथ दिएर त पार्टी एक हुँदैन,’ प्रचण्डले गौतमलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ खेमामा विभाजित भएको छ ।
एउटा खेमाको नेतृत्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । नेता गौतम भने पार्टी एकताको पक्षमा उभिएका छन् ।
संसद विघटनको निणर्य सर्वोच्चले बदर गरिदिएपछि नेता गौतम पार्टी एकता बचाउन भन्दै दौडधुपमा छन् । नेता गौतमले बुधबार नै एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।





















