काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला आफूहरुको आन्दोलन अगाडि बढ्ने चेतावनी दिएका छन् ।
शनिबार विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै चुनाव आफूहरुले नै जित्नुपर्ने बताए। उनले सूर्य चिह्न पनि आफूहरुले नै पाउने दाबी गरे ।
सर्वोच्च अदालतसँग ओलीको ‘सेटिङ’ रहेको भन्दै आशंका धेरैले गरिरहेका बेला प्रधानमन्त्रीले नै ‘सेटिङ’को चिन्ता गरेका हुन् । ‘चुनाव हुन्छ नै। त्यसकारण तपाईंहरु त्यो आत्मविश्वासकासाथ अगाडि बढ्नुस्’, उनले भने, ‘यदि कहीँ कुनै प्रकारको जालझेल, षडयन्त्र, तिकडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं।’
२०७८ वैशाख १७ र २७ मा प्रतिनिधि सभाको चुनाव हुने उनले बताए। प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ४० वटा जिल्लामा वैशाख १७ गते चुनाव हुने र बाँकी प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा चुनाव हुने उनले दोहोर्याए ।
‘चुनाव त्यो दिन हुन्छ। परिणाम कस्तो आउनुपर्छ, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो। देश भाँड्न खोज्नेहरु, अरुको इसारामा देश तोड्न खोज्नेहरु, अरुको इसारामा राम्रा कामको विरोध गरेर हिँड्नेहरु, सुकुम्बासीलाई धनीपूर्जा बाँडिन्छ भन्दा विरोध गरेर हिँड्नेहरु, भूमि आयोग बन्यो भन्दा विरोध गरेर हिँड्नेहरु अथवा विभिन्न संवैधानिक आयोग बन्यो भन्दा विरोध गरेर हिँड्नेहरु, पार्टी एकताबद्ध रहनुपर्छ भन्दा फुटाएर हिँड्नेहरु, देशका लागि होइन आफ्ना पदका लागि मरिमेट्नेहरु, जनतालाई साँचो कुरा बुझाउने होइन झुटा कुरा फैलाउनेहरु, गाली गलौज गर्नेहरु, धारे हात लगाएर सराप्नेहरु, के त्यस्तालाई जिताउनेरु’, ओलीको प्रश्न थियो ।





















