चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् ।
चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै गजुरेलले सो कुरा बताएका हुन् । कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष यमबहादुर परियारले गरेका थिए ।
उनले संसद विघटनको गैरसंबैधानिक कदम कम्युनिस्ट व्यवस्था सिध्याउने श्रृखलाको सूरूवात भएकोे बताएका छन् । ‘केपी ओलीले व्यवस्था सिध्याउन प्रतिगामी शक्तिहरूसंग आत्मसमर्पण गरेका छन्’ उनले भने ‘ओली प्रवृत्तिले देशलाई भड्खालोमा हाल्ने र प्रतिगामीहरूले चालेको डिजाइनको गोटी सिड्गो जनमत र कम्युनिस्ट पार्टीलाइ सिध्याउने हो ।’
गजुरेलले ओलीको खोक्रो राष्ट्रवाद लम्पसारवादमा परिणत भएको भन्दै केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार भएको समेत आरोप लगाए ।‘परिवर्तनलाई स्थापित गर्न र व्यवस्था कायम राख्न हामी सबै रूपान्तरित हुदै एकताबद्ध ढंगले आन्दोलनलाई अगाडी बढाउनुपर्छ’ उनले थपे ‘सिङ्गो देश असंबैधानिक कदमको विपक्षमा रहेको छ संसद पुनस्र्थापना भएरै छोड्नेछ ।’स्वर्गीय काजीबाले एकीकृत कम्यूनिष्ट पार्टीको सपना छाडेर गएको भन्दै उनले रूपान्तरित र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरेर अगाडी बढ्नु नै काजीबाप्रति सच्चा सम्मान हुने बताए ।
श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीका सदस्य तथा चितवनका सचिव कृष्णभक्त पोख्रेलले कम्युनिस्ट आन्दोलन, चितवनको पार्टी निर्माण र कम्युनिस्ट जनमत निर्माणमा स्वर्गीय कुंवरको महत्वपूर्ण योगदान रहेको भन्दै उनको योगदानलाई पार्टीले सधैं सम्झिरहने बताए । पोख्रेलले प्रधानमन्त्री केपी ओलीले जनताको प्रतिनिधी संस्था संसद विघटन गरेर प्रतिगमनको बाटोमा हिंडेको भन्दै यस कदमले आम कम्युनिस्ट नेता, कार्यकर्ता र सिङ्गो देशलाई नै मर्माहत बनाएको उल्लेख गरे ।
उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले पुनस्र्थापनाको पक्षमा फैसला गर्नुको कुनै विकल्प नभएको बताउदै चुनाब चिह्न पार्टीको बहुमत पक्षले पाउने समेत बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरी, नेकपा नेता तथा बागमती प्रदेश सांसद घनश्याम दाहाल ,अबिनास, आशा अस्पतालका सञ्चालक नारायण सिंह कुंवर लगायतले स्वर्गीय खम्बसिंह कुंवर ,काजीबा, ले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
९४ वर्षको उमेरमा निधन भएका खम्बसिह कुवर (काजीबा) को स्मृतिमा शुक्रबार कुंवर निवास केसरबागमा नेपाल कम्युनिस्ट पार्टी९नेकपा० चितवनले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो ।






















