प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको विरोधमा किन बोलेको भनेर स्थायी कमिटीको बैठकमा नभएको एजेण्डा जबरजस्ती ल्याएर दुई दिनसम्म त्यसैलाई पहिलो विषय बनाउने काम किन भईरहेको छ ? अनि भारतका विरुद्धमा बोलेबापत नै प्रधानमन्त्रीको राजीनामा माग्ने पार्टी नेकपा कस्तो राष्ट्रबादी पार्टी हो भन्ने सवाल खडा भएको छ ? भारतीय मिडियाहरुको खुलेआम बकबास आफ्ना देशका प्रधानमन्त्री विरुद्ध भईरहँदा त्यसलाई नजरअन्दाज गर्दै उसैलाई साथ र सहयोग पुग्ने गरेर तिनको मनसुवा पुरा गर्ने मिसनमा लाग्ने कम्युनिष्ट नेताहरुको को विचार कस्तो होला ? एउटै ढुंगामा बसेर त्यसलाई प्वाल पार्दा को चाहिँ डुव्छ को चाहिँ बच्छ ? यति हेक्का नभएका नेताहरुले देशलाई कहाँ पुर्याउलान् ?
प्रधानमन्त्री ओलीले सरकार एक्लै चलाए भन्ने कुण्ठा र भागबण्डालाई हाईड गरेर उनीसँग बदला लिन राजीनामा माग्ने यो कसरी उपयुक्त बेला हो माधब नेपाल एण्ड कम्पनीले जवाफ दिन पर्दछ । प्रचण्ड कम्पनीले त ओलीले अढाई वर्षमा सरकार छोडेनन् भन्ने पीडा बोकीरहेको थियो । ओली सरकारको कुरा होईन मात्र प्रधानमन्त्रीलाई सत्ताबाट पन्छाउने खेल खेल्ने जनताको म्याण्डेड कसैलाई छैन । ओलीले सत्ता सम्हालेर भ्रस्टाचार गरौंला भनेर बसेका हुन् भन्ने आरोप लगाउँदा पाप लाग्छ । उनले जति काम गर्न पर्थ्यो त्यति गर्न सकेनन् भन्नेसम्मको आरोप स्वीकार गर्न सकिन्छ तर यसको जिम्मा त्यो पार्टीका कुनै नेताले लिन पर्दैन ? सहज हिसावले काम गर्न नदिने अनि आरोप मात्रै लगाउने नेकपाका नेताहरुको कुण्ठा र आग्रह ओली भन्दा धेरै दोषी छ ।
माधव नेपालका पकेटका मानिस भनिएका भुसाल र योगेश भट्टराईलाई समेत पछिल्लो समय ओलीले सरकारमा सामेल गरेका छन् । प्रचण्ड पक्षलाई पनि ४० प्रतिशत अंश सरकारमा दिएकै छ । देश विकासको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले मात्र लिने होर ? भाग पाएपछि कुनकुन मन्त्रीले केके काम गर्न सकेनन् त्यो कुरा ओलीको विरोध गर्ने प्रचण्ड र माधव नेपालले देखाउन पर्दैन ? भए देखाउन् । छैन भने ओली मात्र कसरी दोषी भए ? भागबण्डाका सवै मन्त्रीहरुको विश्लेषण गरेर तीनका नराम्रा कामको जिम्मा हामी लिन्छौं भन्न पर्दैन ? सवै मन्त्री ठिकै काम गर्दैछन् भन्ने हो भने समग्र सरकार ठिकै चलेको छ भन्ने अर्थ निस्कन्छ । अरु सवै ठिक ओली मात्र बेठिक भन्ने पनि हुन्छ ? सरकार सञ्चालनमा ओलीको दोष के हो त्यो भन्न पर्दैन ? न प्रचण्डले भन्न सक्छन् न माधव नेपालले । जनतालाई यो यो कारणले ओली सरकार विस्थापित गर्न पर्ने भो भन्ने मुद्धा दिन पर्दछ की पर्दैन ? भारतले मेरो नेतृत्वको सरकार ढाल्न षडयन्त्र गर्दैछ भन्दा नेकपामा भाँडभैलो झिक्न पर्ने कुराले उनीहरुको भारतीयहरुसँगको सम्बन्धलाई शंका गर्न पाईन्छ की पाईँदैन ।
भर्खरै नक्सा पास गरेकोमा भारतीयहरुको रुवावासी चलिरहेको छ । त्यसका लागि नेकपाको मात्र नभएर भारतीय निकटसम्बन्ध राख्ने भनेर आरोप लगाई रहेका मधेशवादीहरुको पनि एकमत देखिएपछि उसको वाक्य बन्द भईरहेको बेला उसले ओली सरकारमाथि प्रहार गर्न छटपटाई रहेको बेला प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने खेल संयोग हुन सक्दैन । संयोग हो भने त्यसमा विचार गर्न पर्ने थियो । अहिले प्रधानमन्त्रीको राजीनामा माग्ने मुद्धा र समय यो कसरी उपयुक्त हो त्यसलाई तत:तत नेताहरुले पुष्टि गर्न पर्दछ । भरखरै भारतीय अतिक्रमणलाई सिंगो मुलुकले चुनौती दिएका बेला सरकार ढाल्न खोज्नु शर्मनाक मात्र नभएर लज्जास्पद पनि छ । यदि ओली सरकार यो बेला ढल्ने हो भने भारतमा दिपावली हुनेछ । यसले नेकपालाई दुख्ला नदुख्ला तर देशलाई भने अवश्य दुख्नेछ ।
नेकपाका गुट उपगुटकासँग गाँसिएर नेकपाका कुनै कार्यकर्ता खुशी हुन्छ भने त्यो मुतको न्यानो शिवाय केही हुदैन । नेताको बुद्धि भ्रष्ट भए पनि कार्यकर्तामा विवेक छ भने आफ्ना नेताहरूलाई रोक्न सक्नु पर्दछ र पार्टी फूटलाई रोक्न सक्नु पर्दछ । ओली सरकार ढालेर अर्को बन्ने नेकपाका कुनै नेताले सरकार सफलतापूर्वक चलाउँछु भन्ने सोच्छ भने त्यो त दिवा सपना मात्र हुनेछ सवैलाई चेतना भया ।
( लेखक उपेक्षित मध्यपूर्वको कुवेतमा बसोबास गर्दछन् । )





















