काठमाडौं / सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् ।
सभामुख सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका हुन् ।
सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी दिएका हुन् । उनले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।
सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन् ।
पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।





















