चितवन / कोरोना विशेष अस्थायी अस्पताल भरतपुरमा भएको चोरी प्रकरणमा मुद्दा चलाउन नमिल्ने भनी जिल्ला सरकारी वकिलको कार्यालय चितवनले निर्णय गरेको छ ।
आवश्यक निर्णयका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले उच्च सरकारी वकिलको कार्यालय हेटौँडामा निर्णय प्रतिलिपिसहित मिसिल पठाएको छ । गत असार ३ गते उक्त निर्णय गरेको हो । तर, मुद्दाको किनारा लाग्न जिल्लाको निर्णय उच्च हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुग्नुपर्छ आजको चितवन पोष्ट दैनिकमा दिपेन्द्र अधिकारीले समाचार लेखेका छन् ।
कोरोना अस्थायी अस्पताल भरतपुरमा खटिएका कर्मचारीहरु फणीन्द्र खनाल, सञ्जय बराल र सूर्यप्रसाद तिवारीमाथि चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको थियो ।
भरतपुर महानगरका कांग्रेस समर्थित वडा अध्यक्षहरु चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेसहितले संयुक्त निवेदन दिएका थिए । जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले निर्णय गरी उपल्लो तहमा पठाएको बताए । यो घटना आपराधिकभन्दा पनि बढी राजनीतिक बन्न पुगेको थियो ।
मुद्दा चलाउन नपर्नुका कारण
कोरोना अस्पतालको जेठ ३२ को पत्रबाट कुनै पनि सामान चोरी नभएको जानकारी आएको र भरतपुर महानगरको असार २ गतेको पत्रबाट उक्त सामानहरु महानगरपालिकामा दाखिला भएको भन्ने जानकारी आएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
आरोपितहरुले केकति सामान चोरी गरेको भनी बिगोको सामान किटानी जाहेरीमा उल्लेख नभएको, चोरी भएको भनिएको भरतपुर कोरोना अस्पतालको तर्फबाट कुनै पनि चोरी जाहेरी नपरेको, अस्पतालका प्रमुख डा. भूर्तेल र सचिव डा. भोजराज अधिकारीले समेत कुनै सामान चोरी नभएको भनी कागज गरेको सरकारी वकिल कार्यालयको निर्णयमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको वैशाख १६ गतेको प्रतिवेदन र प्रतिवादीहरुसँगको बयान, जिल्ला प्रहरी कार्यालय चितवनको जेठ २८ गतेको पत्र पनि मुद्दा चलाउन नपर्ने आधार रहेको कार्यालयको भनाइ छ ।
त्यस्तै, संवैधानिक निकाय अख्तियारले लेखा र स्टोरसम्बन्धी कागजात अनुसन्धानका लागि लगेकाले त्यसमा थप केही गर्न नपर्ने कार्यालयले जनाएको छ ।
जसको सम्पत्ति चोरी भएको भनिएको हो सोही निकायले चोरी नभएको भनी पत्र तथा कागजबाट खुलाएको, यस मुद्दामा केवल जाहेरीका आधारमा मात्र मुद्दा चलाउन नमिल्ने भनी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ३१ को उफदफा (३) बमोजिम उनीहरु उपर हाल मुद्दा नचलाउने निर्णय गरिएको छ ।
अस्पतालको स्टोरबाट सामानहरु निकाली आवश्यक पर्ने कर्मचारीलाई दिँदै आएको र सिसी टिभी फुटेजमा देखिएका सामानहरु पनि सोहीअनुसार भरतपुर कोरोना अस्पतालमा खटिएका कर्मचारीलाई दिनका लागि स्टोरबाट निकाली सबै कर्मचारी र अस्पतालमा खटिएका सुरक्षा गार्डको रोहवरमा लिई गएका हौँ भनी आरोपितहरुले बयान दिएका छन् ।
आफूहरु स्टोरको समेत व्यवस्थापन गर्ने कर्मचारी भएकाले सबै जनाको उपस्थितिमा ती सामान आवश्यकताअनुसार पठाएको र चोरी गरेको होइन भन्ने बयान आरोपितले दिएका छन् ।
अस्पतालको स्टोरबाट स्ट्यान्ड फ्यान, सर्जिकल मास्क, सेनिटाइजर, चप्पल, साबुन, कम्प्युटर स्क्रिन चोरी गरेको आरोप लागेको थियो ।
कोरोना विशेष अस्पतालका प्रमुख डा. शान्ति भूर्तेलले अस्पतालका सामानहरु चेकजाँच गर्दा सहीसलामत अवस्थामा रहेको र स्थापनाकालदेखि हालसम्म कुनै पनि सामग्री चोरी नभएको भनी बताएकी छन् । साभार : चितवन पोष्ट दैनिक





















