काठमाडौं / नेकपा विवादमा निर्वाचन आयोगको निर्णयबारे प्रचण्ड-नेपाल पक्षले विज्ञहरुसँग छलफल गर्ने भएका छन्।
आयोगका केही सकारात्मक निर्णय भएपनि उसमा सरकारको छाया देखिएकाले विज्ञहरुसँग छलफल गरेर अघि बढ्ने कानुन व्यवसायी समेत रहेका प्रचण्ड-नेपाल समुहका नेता कृष्णभक्त पोखरेलले बताए। अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउनै नसक्ने भन्नु बहुमतको विपरित रहेको उनको भनाई छ। उनले यस विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गर्ने समेत बताए।
पोखरेलले भने ‘अवैध रुपमा केपी शर्मा ओलीले थपेका केन्द्रीय सदस्यहरुलाई मान्यता नदिएर आयोगले केही सकरात्मक काम गरेको छ। तर उसले अध्यक्षलाई हटाउनै नसकिने भनेर समेत भन्नुको पछाडि सरकारको प्रभाव देखिएको छ,’ ।
‘अध्यक्ष र महासचिव चाहिने भनेर भन्नु गलत हो। महासचिव बैठकमा आउदै नआएमा के हुन्छ भन्ने कुरालाई आयोगले बुझ्न सकेन। उसले बहुमतलाई स्वीकारेको देखिएन’ पाेखरेलले भने ।





















