चितवन / पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।
पुलको उद्घाटन गर्दै नगरप्रमुख नारायण वनले नागरिक सुरक्षा प्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वृद्धवृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो छ, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण गयौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख वन, उपप्रमुख विमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कँुवर र उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।





















