काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सानो गुट मात्रै भएको दाबी गरेका छन्।
नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको प्रतिनिधिसभा विघटन, प्रतिगामी कदम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘केपी ओलीले आफूलाई सानो गुटबाट माथि उठाउन सकेनन्। उनले प्रधानमन्त्री पदको समेत गरिमा राखेनन्। उहा सानो गुटमा रमाउन खोज्नुभयो। ओलीले आफ्नो पक्षमा भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढिरहेका छन्’ उनले भने, ‘उहाँले तानाशाह र निरङ्कुश हुन्। उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तालाई पुगिसकेको छ।’
ओलीलाई आधिकारिक पार्टीबाट कारबाही गरिसकेको उनले दाबी गरे। ‘ओलीलाई बहुमतको केन्द्रीय कमिटीको निर्णयबाट हटाइसकेको छौँ। ओली नेकपाका अध्यक्ष होइनन्’ उनले भने, ‘अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ। आज बस्ने स्थायी कमिटी बैठकले थप निर्णय लिन सक्छ।’
प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको सर्वोच्च अदालतले बदर गर्ने जिकिर गरे। ‘संविधानको कू गरेको बेला चुनावको औचित्य हुँदैन। उहाँले भनेको चुनाव कुनै पनि हालतमा हुँदैन’ उनले भने।
प्रधानमन्त्री ओलीले पार्टीलाई ध्वस्त पारेको आरोप लगाए। ‘हामी ओलीका दास होइनौं। पार्टीमा विधि पद्धतिका बारेमा छलफल गर्नुपर्छ’ उनले भने, ‘उहाँले पार्टीको निर्णय नमान्ने भएपछि कहाँ पार्टी सञ्चालन गर्न सकिन्छ? उनले पार्टीमा निरङ्कुुस र तानाशाह प्रवृत्ति लगाउन खोजे।’





















