काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै पनि समूहमा नलागेका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान शुरु गर्ने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एक पक्ष र पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्ष राजनीतिक रुपमा विभाजित भएको छ । एकले अर्को पक्षका नेतालाई कारवाही र निष्काशन गर्ने क्रम जारी रहेको छ ।
तर उपाध्यक्ष वामदेव गौतम भने दुवै पक्षमा लागेका थिएनन् । प्रधानमन्त्री ओली र प्रचण्ड माधव समूह दुबैले उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउन खोजेपनि उनी पार्टी एकताको पक्षमा लाग्ने बताउँदै आएका छन् ।
छुट्टै समूह ?
वामदेवले ओली वा प्रचण्ड माधव समूहमा नलागेर आफ्नो छुट्टै समूह घोषणा गर्ने तयारी गरेका छन् । नेकपा राष्ट्रिय एकता अभियान नाम दिएर उपाध्यक्ष गौतमले ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेका छन् ।
उनले आगामी बुधबार उक्त समिति घोषणाको तयारी गरेको उनी निकट स्रोतले जानकारी दियो ।
वामदेवले घोषणा गर्ने केन्द्रीय समितिमा रहनेहरु प्रदेश कमिटिको पदने सदस्य रहने व्यवस्था गरिएको छ ।
कानूनीरुपमा पार्टी विभाजन नभएसम्म दुबै पक्षले आयोजना गर्ने सभा बैठक र भेलाहरुमा नजाने, शिष्ट भाषाको प्रयोग गर्न नेता कार्यकर्तालाई आह्वान गर्ने लगायतका रहेका छन् ।
गौतमको रोडम्याप
उपाध्यक्ष गौतमले पार्टीमा देखिएको विवाद समाधानका लागि रोडम्यापपनि अघि सारेका छन् ।
जसमा माघमा पार्टीको विशेष महाधिवेशन गरेर अध्यक्षबाट केपी ओलीलाई विदा दिने र उनले वैशाखमा घोषणा गरेको चुनावमा सहभागी हुने कार्यक्रम छ ।
विशेष महाधिवेशनको प्रतिनिधि भने एउटा मापदण्ड बनाएर ल्याउन वामदेवले प्रस्ताव गरेका छन् । पार्टीको नयाँ नेतृत्व सर्वसम्मत छनोट गर्ने प्रस्ताव गरिएको छ
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते आम चुनावको घोषणा गरेका छन्। त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ भने सो स्थानमा नेता नेपाललाई अध्यक्ष बनाएको छ ।
‘एकता अभियानको बारेमा दुवै पक्षका नेताहरुसँग गौतम छलफलमा हुनुहुन्छ,’स्राेतले भन्याे, ‘दुवै पक्ष मिलेर जाने हो भने गत चुनावजतिको स्थान त नआउला तर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भने पक्कै पनि बनिन्छ ।’
गौतमले बिहीबार राष्ट्रियभामा बोल्दै पार्टी एकताका लागि आफूले प्रयास गर्ने बताएका थिए ।





















