काठमाडौँ / नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा जाने बताएका छन् ।
पौडेलले प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको बताए । देशभरका वडा, पालिका तथा प्रदेश स्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउन सक्ने बताए ।
उनले संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफुहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।
मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्र्तक्रियामा बोल्दै बरिष्ठ नेता पौडेलले सार्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।कुनै कानूनी तथा संम्बैधानिक आधारबिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधि सभालाई पुर्नस्थापना गर्ने विश्वास रहेको पौडेलले बताए ।
बरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वांकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधि सभा माथि रिस पोख्ने तथा प्रतिनिधि सभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको बताए ।
























