भन्छन् आफ्नै घर शहरमा बन्द छन् पुग्न बाटो
कैले होला सहज दुनियाँ लाग्छ आफ्नै बिरानो
छोरा छोरी परपर भए साथ छुट्यो सबैको
मात्रै बाँकी भर जहरको चाह हो यो उनैको !१!
तृष्णा बेग्लै सगर छ छुने कल्पना हो विचित्र
के के होला भुवन मुनि खै पुग्न सक्छौ र भित्र
जाने बाटो सब असजिलो मृत्यु देखें सबैको
यात्रा पिच्छे कहर भरियो चाह हो यो उनैको !२!
धोकै धोका शहरभरि नै मात्र धोका रहेछ
सन्ध्या छायो तन मन सबै आश टुक्रा भएछ
लाग्थ्यो जस्तै जनक जननी स्वार्थ बेग्लै सबैको
पैतालामा अझ रहिरहूँ चाह हो यो उनैको !३!
मेरै आफ्नो जमिन रसिलो देश आफ्नै छ प्यारो
वैरी ठान्छन् परमुलुकमा सास धान्नै छ गाह्रो
व्यर्थै को यो रहर चुडियो देख्छु राम्रै सबैको
लैजा हावा खबर नमिठो चाह हो यो उनैको !४!
भोका नाङ्गा चिलबिल भए बेलुकी बास छैन
के नै होला दिन पछि अझै भोलिको आश छैन
फेवा रारा सरह छ कथा सुन्छु पीडा सबैको
बित्नै गाह्रो समय विरही चाह हो यो उनैको !५!





















