काठमाडौं / पुराना पत्रकार चक्रपाणि नेपालको ७३ वर्षका उमेरमा शुक्रबार निधन भएको छ। पत्रकार नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रक्तनलीसम्बन्धी रोग र मधुमेहको उपचार गराइरहेका थिए।
सङ्खुवासभाको आँखीभुइँ–५ मा २००४ सालमा जन्मिएका नेपाल केही समय अघिसम्म ‘नेपालीपत्र’ साप्ताहिकमा स्तम्भकारका रुपमा कार्यरत थिए। लामो समय नेपालको भूमिगत वामपन्थी आन्दोलनसँग जोडिएर पत्रकारितामा हाम फालेका नेपाल नेकपाको मूल धारभन्दा टाढा नभए पनि पेशा प्रति प्रतिबद्ध थिए।
नेपालले २०७२ मा प्रेस काउन्सिल नेपालबाट प्रेस काउन्सिल पत्रकारिता पुरस्कार र नेपाल पत्रकार महासंघबाट २०७३ प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । नेपालले २०४७ सालअघि शिक्षक तथा तत्कालीन नेकपा (माले)मा संगठित भएर धादिङ जिल्लामा काम पनि गरेका थिए।
उनले रेशम विरहीका सम्पादनमा ललितपुरबाट २०४८ सालमा प्रकाशित ‘अभिनन्दन’ दैनिकमा संवाददाताका रुपमा पत्रकारितामा प्रवेश गरेका नेपाल खोजी पत्रकारितामा विशेष चासो राख्थे।
वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्योपचारका लागि प्रधानमन्त्री कोषबाट रु चार लाख सहायतासमेत दिएका थिए।





















