काठमाडौं / गृहमन्त्री रामबहादुर थापा बादलले केही नेताहरुको पदीय महत्वकांक्षामाथि प्रतिक्रियावादीहरुले खेलेको बताएका छन् ।
अन्तिम समयमा सत्तारुढ दल नेकपाको केपी ओली समूहमा लागेका गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य थापा बादलले पार्टीभित्रका अवसरवादीको महत्वाकांक्षामाथि टेकेर प्रतिक्रियावादीहरु पार्टी विभाजनमा सफल भएको बताएका हुन् ।
ओली समूहले शुक्रबार ललितपुरमा आयोजना गरेको महानगरस्तीयर भेलालाई सम्बोधन गर्दै नेता थापाले नेकपाका केहि नेताहरुको राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्ने महत्वाकांक्षामाथि प्रतिक्रियादीहरु खेलेको बताए।
उनले नेकपाका सांसदलाई विभाजन गरेर स्थायित्वतिर हिँडेको संसदलाई अस्थिरता प्रदान गर्ने संयन्त्रका रुपमा परिणत गर्न प्रतिक्रियावादी सफल भएको बताए।
प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी थियो ।
गृहमन्त्री थापाले अव संसदको पुनःस्थापनाबाट समस्याको समधान ननिस्कने भन्दै नयाँ संसदको स्थापनाको विकल्प नरहेको बताए । उनले पुरानो संसदले स्थायीत्व दिन नसक्ने बताए ।





















