काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध संघर्ष गरिरहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्। संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनले आरोप लगाएका छन्।
‘संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमविरुद्ध हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं’ उनले लेखेका छन्, ‘त्यस प्रकारको असंवैधानिक कदम चालिएको पुस ५ गतेको कालो दिनपछि पुस ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याइयो।’
ओलीको कदमले नेकपा र कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई चालेको उनले तर्क गरेका छन्।
‘हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्तिविरुद्ध पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं। यतिबेला हामी मुख्यतः प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेका छौं’ उनले भनेका छन्, ‘त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उद्देश्यलाई केन्द्रमा राखी विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल (बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा लाग्नेहरू झैं प्रस्तुत नहुन अनुरोध गर्दछु।’
प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिनका लागि आफूहरू लागिरहेको जिकिर गरेका छन्। ‘हाम्रा लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ। नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टीकरणबाट बचाउनु पर्दछ’ उनले भनेका छन्।





















