काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले बैंकहरुमा पत्राचार गरेका छन्।
पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएकोले नेकपाको खाता रोक्का गर्न प्रचण्ड-नेपालले बैंकहरुमा इमेलमार्फत पत्र पठाएका हुन्।
पुस १२ गतेको मिति उल्लेख भएको पत्र बुधबार बैंकहरुमा पुगेको छ। ‘१२ गते नै लेखिएको प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको पत्र आज हात परेको छ’ एक बैंकको सीईओले भने, ‘यो विषय हामीले नै निर्णय गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं।’
नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरुलाई पत्राचार गरेको पुष्टि गरे। उनका अनुसार पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नलागुञ्जेलसम्म रोक्का राख्ने निर्णय अघिल्लो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो। केन्द्रीय कमिटीको निर्णयपछि कार्यालयले पत्राचार गरेको हुनसक्ने उनले बताए।





















