काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत विभिन्न संगठनका नेताहरुले सम्बोधन गर्नेछन्। आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ। सभामा ५० हजार मानिस उतार्ने प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्।
सभामा उपत्यका सहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने उनको दाबी छ। उपत्यका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ।
टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ।
नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो। सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ।हरेक जिल्लाबाट नेता कार्यकर्ताहरुको उपस्थिति रहने नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।





















