काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् ।
संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । उनले आफूहरुले संसद विघटन भएको नठान्ने बताए । ‘हामी संसद विघटन भएको ठान्दैनौं त्यो अधिकार नै उहाँलाई छैन’ नेता नेपालले भने ।
अधिकार नै नभएको निर्णयलाई मान्न नसकिने भन्दै नेता नेपालले भने,‘ अधिकार नै नभएपछि कसरी मान्ने । उहाँलाई हिँड्दा हिँड्दै उहाँले केही निर्णय गरिदिनुभयो भने मान्दिने ?’
असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको भन्दै उनले भने, ‘प्रतिनिधिसभाको ९० जनाको हस्ताक्षर भइसकेको छ । दुईमन्त्री, रघुवीर महासेठ लगायत जोड्दा ९५/१०० जना हुन्छ राष्ट्रियसभामा पनि २४ हस्ताक्षर भइसकेको छ ।’
उनले अघि भने, ‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न ।’ नेता नेपालले संसदीय दलको बैठक बसिरहेको भन्दै त्यसले निर्णय गर्ने बताए ।
समस्या समाधानका लागि राजनीतिक र संवैधानिक लगायतका उपाय अपनाउन आफूहरु तयार रहेको उनले बताए । ‘के के उपाय हुन्छ ति सबै उपाय अपनाउँछौं । राजनीतिक संवैधानिक कुन कुन उपाय अपनाउनु पर्ने हो त्यो सबै अपनाउँछौं ।’





















