काठमाडौँ / नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै एउटा लेनदेनको विषयमा नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठ मुछिएका छन्।
एक जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन्।
भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषयमा छलफल भएको देखिन्छ। श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम पनि उल्लेख छ। भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन्।
प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरुकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन्। ‘म यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित हैन। कमानजीसँग मेरो कुनै लेनदेन पनि छैन। याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर मिलाइदिन खोजेको हो, त्यो पनि कमानजीको आग्रहमा।
अहिले जे अडियो भिडियोको कुरा छ, त्यो छलफलमा तपाईंहरु मिल्नुस् भनेको हुँ,’ श्रेष्ठले भने, ‘त्यसबाहेक मेरो कुनै सम्बन्ध छैन। त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो।’
स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए। कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो।
विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालकहाँ समेत पुगेका थिए। स्रोतका अनुसार दाहालले लामा र कर्माचार्यलाई दुई–तीनपटक सँगै राखेर विवाद मिलाउन सुझाव दिएका थिए। समस्या हल नभएपछि लामाले छोरामार्फत विवाद टुङ्ग्याउन कानुनी प्रक्रिया खोजेका थिए।





















