उदयपुर / सरकारले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गराए नेपाल रणभूमि बन्ने नेपाल कम्यनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन्।
नेकपा क्रान्तिकारी माओवादीको पूर्वी ब्यूरो बैठकको शिलशिलामा बुधबार उदयपुर आइपुगेका वैद्यले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। ‘अमेरिकी राजदूतावासले एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश भएको बताईसकेको अवस्थामा सरकारले पास गरे यसले नेपाललाई रणभूमि बनाउने छ’, उनले भने।
दुईतिहाइ बहुमतको सरकारले जनजीविका, रोजगार र राष्ट्रिय स्वधीनताको पक्षमा काम गर्न नसकेको बताउँदै उनले यसलाई नाम मात्रको कम्युनिष्ट सरकारको संज्ञा दिए। सीमा सुरक्षाको सन्दर्भमा वर्तमान सरकारले ठोस कदम चाल्न नसक्दा भारतले छिमेकीको नाममा सिमा थिचोमिचो गर्दा पनि सरकार चुप बसेको आरोप लगाए।
सरकार भाषणमा मात्रै सीमित रहेको उल्लेख गर्दै उनले कोरोना महामारीमा जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको समेत आरोप लगाए। नेकपाका दुई अध्यक्षको जुँगाको लडाइले सरकार कमजोर बनेको बताएका उनले त्यसको विकल्पमा संयुक्त मोर्चा आवश्यकता रहेको चर्चा गरे। देशको समस्या समाधानका लागि जनता मैदानमा उत्रनु पर्ने अवस्था आएको पनि उनको जिकिर थियो।
राजावादीको सडकको भेला र सभाबारे बोल्दै उनले संघीयताविरुद्ध विभिन्न षड्यन्त्र भइरहँदा पनि सरकार मौन रहेको आरोप लगाए।





















