काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हालतमा पार्टी फुटाउन नदिइने बताएका छन् ।
शुक्रबार पार्टी निकट विद्यार्थी संगठनका नेताहरुसँगको भेटघाटका क्रममा वरिष्ठ नेता खनालले अध्यक्ष ओलीलाई साइजमा ल्याइने पनि बताए ।
‘उहाँ (ओली)लाई पार्टी फुटाउन दिइँदैन,’ खनालले विद्यार्थी नेताहरुसँग भने, ‘दुवै जिम्मेवारीमा रजगज गर्न नदिएर साइजमा ल्याइन्छ ।’
भेटवार्ताका लागि निजी निवास डल्लु पुगेका विद्यार्थी नेताहरुसँग नेता खनालले अहिलेको समस्या मूल जड नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भएको पनि बताए ।
‘उहाँ (ओली) मा जुन दम्भ,घमण्ड र अहंकार छ त्यसले न कम्युनिष्ट पार्टी बन्छ न समाजवादको आन्दोलन नै अघि बढ्छ,’ खनालले भने, ‘उहाँले गुटका र आसेपासेहरूलाई परिचालन गर्दै हामी (पार्टीका शीर्ष नेताहरू) लाई आमाचकारी गाली गर्नेहरूलाई राजनीतिक नियुक्ति दिएर पार्टीलाई ध्वस्त मात्र बनाउने प्रयास गर्नुभएको छैन बाँकी अरु सबैलाई बदनाम गराउनुभएको छ ।’





















