तनहुँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको छ ।पौडेल बुधबार साँझ रिहा भएका हुन्। पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए ।
पौडेल पक्राउ परेकोमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए। देउवाले प्रधानमन्त्रीलाई नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गरेका थिए ।
गृहजिल्ला तनहुँमा पुगेका नेता रामचन्द्र पौडेल प्रहरीले नियन्त्रणमा परेका थिए । नेता पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्मा का अनुसार स्थगित भएको पुलको भोलि ११ बजे काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुनेछ ।






















