गोरखा / गोरखा जिल्ला भित्रका अबैध क्रसर बन्द गर्न जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्रका स्थानीय तहहरुलाई आग्रह गरेको छ । प्रसासनले जिल्लाका सवै स्थानीयतहहरुलाई पत्राचार गर्दै आ–आफ्नो क्षेत्रमा रहेका अबैध क्रसर बन्द गर्न भनेको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले पालिकाभित्र ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन कार्य भएको भए रोक्न तथा अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न अनुरोध सहितको पत्र पठाएको जानकारी दिनुभयो ।
बिभिन्न खोला, नदी तथा खानीबाट उत्खनन गरी घाटगद्दीमा संकलन गरिएका ढुंगा, गिटी र बालुवा र क्रसर उद्योगबाट उत्पादित, प्रशोधित ढुंगा, गिटी, बालुवालाई जिल्ला तहको समितिमार्फत परिमाण नापजाँच गर्न पनि सहायक प्रमुख जिल्ला अधिकारीले पठाएको पत्रमा भनिएको छ । गृहमन्त्रालयले यस अघि जिल्ला प्रसासन कार्यालय गोरखालाई पत्र पठाएर जिल्ला भित्रको अबैध क्रसर बन्द गर्न निर्देशन दिएको थियो ।
गृहले बैध अबैधको अध्ययन गरि अबैध क्रसर तत्काल बन्द गर्न जिल्ला प्रसासन कार्यालयलाई अनुमति दिएको भएपनि गोरखा प्रसासनले भने स्थानीय तहलाई पत्र भारा टार्ने काम गरेको छ । गोरखा जिल्ला भित्र अहिले ६ वटा क्रसर सञ्चालन रहेको भएपनि अधिकासंको कागजपत्र नपुग्ने तथा मापदण्ड बिपरित सञ्चालन भएको भन्दै पटक पटक बन्द गर्नुपर्ने माग उठ्दै आएको छ ।





















