रुपन्देही / पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई नेपाली कांग्रेसका कार्यकर्ताले बुटवलमा कालो झन्डा देखाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका पौडेललाई गृह जिल्ला रुपन्देही आएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले बुधबार बिहान तिनाउ पुल नजिकै कालो झन्डा देखाएका थिए।
अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदै गर्दा सडकमा भेला भएका कांग्रेस कार्यकर्ताले उनलाई कालो झन्डा देखाएका हुन्। पौडेल करिब एक वर्षपछि मंगलबार बुटवल आएका हुन्। पदसँग राजधानी साटेको भन्दै अर्थमन्त्री पौडेललाई कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ। अहिले बुटवल आसिासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ।
लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो। हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको छ। यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए। त्यसबेला नेविसंघले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव तथा सरकारका अर्थमन्त्री विष्णु पौडेललाई कांग्रेसले कालोझण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति जनाएको छ। नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो। बुधबार पौडेललाई नेपाली कांग्रेस रुपन्देहीले कालोझन्डा देखाएर विरोध गरेको थियो।
नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा बुधबार दिउँसो जारी गरिएको विज्ञप्तिमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उदघाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेर कांग्रसले आफूलाई कुन दिशा तर्फ फर्काउन खोजिएको हो जारि बिज्ञप्तीमा भनिएको छ।





















