काठमाडौं / पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका माझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
नेकपा विभाजन भएको अवस्थामा सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले कांग्रेससँग छलफल अघि बढाएका हुन् ।
शनिबार दिउँसो ३ घण्टा भएको गोप्य भेटमा नेकपा अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको देउवा निकट स्रोतले बताएको छ । उक्त भेटबारे कांग्रेस नेता रमेश लेखकले पनि पुष्टि गरे ।
संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै देउवालाई प्रधानमन्त्री ओलीले बोलाएका थिए । तर, पार्टी विवादका कारण एक्लिएका ओलीले पद जानसक्ने चिन्तालाई मध्यजनर गर्दै देउवासँग सत्ता साझेदारीको प्रस्ताव अघि सारेका हुन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेटेको भोलिपल्टै देउवाले ओलीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि पनि पार्टीको विवाद उत्कर्षमा पुगेकै वेला प्रधानमन्त्री ओलीले १७ असारमा कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए । त्यसको कांग्रेस नेताहरूले नै विरोध जनाएका थिए । यसपटकको भेटबारे कांग्रेस नेताहरूले केही प्रतिक्रिया दिएका छैनन् ।





















