चितवन / प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् ।
शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताहरुले पूर्व अर्थमन्त्री समेत रहेको स्थायी समिति सदस्य पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् ।
नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले चितवनमा पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा गरेका छन् ।
स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य पाण्डेमाथिको अभद्र व्यवहार तथा नाराबाजी सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक पार्टीका लागि पटक्कै नसुहाउने पनि नेता नेपालले बताएका छन् ।
नेपालले उक्त कार्य गर्ने/गराउने जो सुकै भए पनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताएका छन् ।
पाण्डेमाथि शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट कार्यकर्ताहरुले दुर्व्यवहार गरेका थिए ।
कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका ४/५ जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए ।
उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएकोले कार्यक्रम स्थगित गरिएको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए ।
उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकीय हुन् । उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् ।
नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरिएको बताए । उनले केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको आरोप लगाए ।





















