काठमाडौं / सत्तारुढ दल नेकपाभित्रको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो फेरि बढेको छ । नेकपाको विवादमा राष्ट्रपति भण्डारीको फेरि इन्ट्री भएसँगै उनले मंगलवार साँझ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवास बोलाएकी छन् ।
पार्टी सग्लो नरहने अवस्थामा आएपछि राष्ट्रपति भण्डारीले विवाद चर्काउने समूहका नेता प्रचण्डलाई शितल निवासमा बोलाएर छलफल गरेकी हुन्। शितल निवास स्रोतका अनुसार साढे ५ बजे प्रचण्ड राष्ट्रपति भवन प्रवेश गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठक सार्न आग्रह गरेको केही एक घण्टामै प्रचण्डलाई शितल निवासले बोलाएको थियो ।
करिब ४ बजेतिर प्रधानमन्त्री ओलीले बुधबारको बैठक केही दिन स्थगित गरौ भन्ने प्रस्ताव गरेपनि प्रचण्डले बैठक गरेर बैठकबाटै स्थगित गरौ भनेका थिए । ‘ओलीले बैठक सारौ भन्ने प्रस्ताव गरेको र प्रचण्डले बैठक राखेर छलफल गरौ भनेको केही समयमै राष्ट्रपति कार्यालयबाट भेटघाटका लागि समय मिलाइएको भन्दै फोन आएको थियो ’, खुमलटार निकट स्रोतले भन्यो ।
आफ्नो कुरा नसुनिएपछि वालुवाटारले शितल निवासलाई प्रयोग गरेर अध्यक्ष प्रचण्डलाई फकाउने प्रयास गरेको देखिएको खुमलटाार निकट स्रोतले जनाएको छ । मंगलबार विहान महासचिव विष्णु पौडेल खुमलटार पुगेर प्रचण्डले बैठकमा पेश गरेका राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले त्यसलाई अस्वीकार गरेपछि वालुवाटारमा ओली समूहको छुटटै बैठक बसेर सचिवालय बैठक सार्न प्रस्ताव गरिएको थियो ।
यसअघी पनि राष्ट्रपतिले नेकपाका नेताहरु वामदेब गौतम र राम बहादुर थापासँग अलग अलग भेट गरि नेकपाको विवाद मिलाउन समन्वयकारी भूमिका खेल्न सम्झाएकी थिइन् । तिहारकै मध्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई भेटेर नेकपाको विवादको व्रिफिङ गर्दै अब चालिने कदमको बारेमा जानकारी गराएका थिए ।
फाइल फोटो





















