झापा / तिहार बिदा अर्थात् मङ्सिर ३ गतेदेखि सबै सरकारी कार्यालय खुला हुनुपर्ने भए पनि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिका कार्यालय भने मङ्सिर ३ गतेदेखि बन्द हुने भएको छ।
दुवै स्थानीय तहले छुट्टाछुट्टै निर्णय गर्दै गाउँपालिका बन्द राख्ने भनी सूचना जारी गरेको छ। बाह्रदशी गाउँपालिकाका एक ओभरसियरलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा बसेका छन्।
कोरोना भाइरसको महामारी अझै सामान्य नभएको भन्दै बाह्रदशीले मङ्सिर ६ गतेसम्म गाउँपालिका अन्तरगत सबै कार्यालय बन्द राख्ने निर्णय गरेको छ। अब छठ पर्व सकिएर मङ्सिर ७ गतेदेखि मात्र गाउँपालिका कार्यालय नियमित रुपमा सञ्चालन हुने सूचना उल्लेख गरिएको छ।
संक्रमित सबै कर्मचारी हाल होम आइसोलेसनमा बसेकाले मङ्सिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए। सो गाउँपालिका कार्यालय कात्तिक २७ गतेदेखि नै बन्द रहेको छ।
त्यस्तै झापा गाउँपालिकाका १२ जना कर्मचारीहरू संक्रमित छन्। गाउँपालिका एकै पटक एक दर्जन कर्मचारी संक्रमित भएपछि मङ्सिर ९ गतेसम्म कार्यालय बन्द राख्ने निर्णय गरेको छ।





















