काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको समस्या समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन् ।
आइतबार बिहान अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका गौतमले आन्तरिक समस्या समाधानका लागि सच्चिन ओलीलाई आग्रह गरेका हुन् ।
पार्टी भित्र देखिएको समस्या समाधानका विषयमा छलफल गर्न भन्दै ओलीले आइतबार बिहान गौतमलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका थिए । गौतमलाई ओलीले पार्टी भित्र देखिएको समस्याको कसरी समाधान गर्ने भनेर ‘सुझाव’ मागेका थिए ।
जवाफमा गौतमले समस्या समाधानका लागि ‘तपाईं नै सच्चिनुपर्ने’ भन्दै ओलीलाई ‘सुझाव’ दिएका थिए । ‘प्रचण्ड वा माधव कमरेडलाई गाली गरेर समस्या समाधान हुँदैन । यसले त झन झगडा हुन्छ,’ गौतमले ओलीलाई दिएको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसले त समस्या झन बड्छ ।
यसको समाधान भनेको बसेर प्रस्तावहरु माथि बैठकमा छलफल गर्न सकिन्छ । यदि फिर्ता लिन मिल्ने भए बैठकमा फिर्ता लिनुहोस् भनेर भन्न पनि सकिन्छ । तर, त्यसमा प्रधानमन्त्री (तपाईं) पनि सच्चिन जरुरी छ ।’
गत असार १० गतदेखि शुरु भएको स्थायी कमिटीको बैठक चलिरहेकै समयमा नेकपाका आन्तरिक विवाद चुलिएको थियो । आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थगित रहेर भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले समस्या समाधान गरेको भनिएको थियो ।
तर, पछिल्लो समय आन्तरिक विवाद पुनः पार्टी विभाजनकै संघारमा पुग्ने गरी चुलिएको हो । विवाद बढ्दै गएपछि अध्यक्षद्व ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच पत्रयुद्ध समेत चर्किएको छ । दुवै अध्यक्षले पत्रमार्फत एक–अर्काको कमजोरी औंल्याउँदै आरोप–प्रत्यारोप गरेका थिए ।
यसबीच शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले लिखित प्रस्ताव पेश गरेका थिए । अर्का अध्यक्ष ओलीका कमजोरी औंल्याएर प्रस्तुत गरिएको प्रस्ताव ओली पक्षका नेताहरुले भने फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । उपाध्यक्ष गौतमले नै प्रचण्डले पेश गरेको प्रस्ताव बहुमत सचिवालय सदस्य (५ जना)को सहमतिका आधारमा तयार पारिखएको बताएका थिए ।
नेपालसँगको भेटवार्तामा
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले नेताहरुसँग परामर्श अघि बढाएका छन्।
आज बिहान नेता वामदेव गौतमसँग छलफल गरेका प्रधानमन्त्री ओलीले बालुवाटारमा दिउसो वरिष्ठ नेता माधव नेपालसँग दिउँसो १ देखि ५ वजेसम्म भेटवार्ता गरेका छन्। दुवै जनासँगको भेटवार्ताका क्रममा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो।
स्रोतका अनुसार प्रधानमन्त्रीले नेता गौतमलाई सरकारमै सहभागी बनाउने गरी समर्थन प्राप्त गर्ने प्रयास गरेका छन्। र आफूलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शुक्रबारको सचिवालय बैठकमा पेश गरेको दस्तावेजले अफ्ठेरोमा रहेका ओलीले यसअघि हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
आज नेता गौतम र वरिष्ठ नेता नेपालसँगको भेटमा ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए।





















