काठमाडाैं / चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्समा नेपाली कांग्रेसलाई भारतीय पार्टी भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ।
बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताए।
कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताकाप्रति समर्पित भएको र चीन मात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताए।
यो विषयमा दुई देशका संयुक्त टोलीले ऐतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमा स्तम्भको स्थिति सबैको मूल्यांकन गरेर निर्क्यौलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको बताए।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्याहरुमा सैद्धान्तिक सहमति भएको बताए। पार्टीलाई विधि सम्मत, विधानको पद्धतिका आधारमा क्रियाशील सदस्य वितरण गर्ने सहमति भएको पनि बताए। यस्तै तिहारलगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दामा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताए।





















