काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फूटबाट जोगाउन अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पटक-पटक आग्रह गरेको खुलासा गरेका छन् ।
शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले पार्टीलाई विभाजनबाट रोक्न ओलीसँग पटक-पटक आग्रह गरेको खुलासा गरेका हुन् ।
पार्टी विभाजनलाई रोक्न अर्का अध्यक्ष कमरेड ओलीसँग मैले पटक-पटक आग्रह गरेको छु,प्रचण्डले भने, प्रयास अझै जारी राख्छु ।
त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले भने, हाम्रो पार्टी कमजोर धरातलमा छैन । हामी आज पनि पार्टी एकताकै लागि जुटेका हौँ । त्यसैले कसैले नेकपा फुटाउने सपना देखेको छ भने त्यो नदेखे हुन्छ ।
शुक्रवारको अनौपचारिक छलफलमा नेकपाका ५ जना सचिवालय सदस्यहरू उपस्थित थिए । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भेलामा उपस्थित थिए ।
गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र अध्यक्ष ओली भने आजको भेलामा सहभागी भएनन् ।
आजको अनौपचारिक बैठक ओलीकै सहमतिमा डाकिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।भेलाले शनिवार प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित आग्रह गर्ने निष्कर्ष निकालेको छ ।





















